काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्नो दलका शीर्ष नेतालाई एम्बुसमा पार्ने प्रयास भएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आफ्नो दलका नेताहरुमाथि हत्या प्रयास भएको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रतिनीधि सभा वा अन्य कुनै राजनीतिक दललाई छैन् । कोशी प्रदेशको नाम के राख्ने त्यो कोशी प्रदेशको अधिकार हो ।’
केही महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको शीर्ष नेतृत्वको टोलीमाथि झापाको चारआलीदेखि इलाम, पाँचथर र तेह्रथुमसम्म पुग्दा सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहरु ढाल्ने, गाडीमा ढुंगामुढा गर्ने, कालो झण्डा देखाउने तथा एम्बुससमेत थापेको दाबी गरे ।
‘त्यतिमात्रै होइन केही ठाउँमा एम्बुस समेत थापिएको थियो । त्यसको मतलव हाम्रा नेताहरुको हत्याको प्रयास भएको थियो भन्ने स्वभाविक रुपमा भन्न सकिन्छ ।’ उनले भने, ‘त्यो वेला प्रश्न उठायौं । सवैसाधारणको सुरक्षा गर्नु सरकारको दायित्व हो तर देशको शिर्ष नेता भ्रमणमा जाँदा एम्बुस थापेर मार्न खोजिन्छ भने देश कता गईरहेको छ ? यो हिंसा कसले गरिरहेको छ ?’
हिजो समेत आफ्नो पार्टीका नेतामाथि हत्या प्रयास भएको उनको भनाइ छ । भट्टराईले भने, ‘पुलिसहरुमाथि ज्याददती भएको छ । पुलिसहरुको अनुहारमा ढुङगाले अमानवीय छ कुच्चाईएको छ । तर सरकार मुकदर्शक बन्छ । आफ्नै सहकर्मी पुलीसको सुरक्षा गर्न जाँदैन् । राजनीतिक दलको नेताको सुरक्षा गर्दैन् । यो विडम्बना पूणर् छ । हिजो मात्र हाम्रा पार्टीका केन्द्रिय सदस्य कोशि प्रदेशका संसदीय दलका नेता राम रानामाथि ज्यान मार्ने प्रयास भइरहको छ । यो के भईरहेको छ ?’
