काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको कारण खोल्नु पर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रपति भन्ने व्यक्ति नभइ संस्था भएको भन्दै कुन आधारमा एउटा राष्ट्रपतिले रोकेको विधेयक अर्कोले अगाडि बढाएको हो जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रपति भन्ने व्यक्ति होइन्, संस्था हो । एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणिकरण गर्दा के आधारमा गरियो, भन्ने कुरा जवाफ चाहिन्छ संसदलाई, त्यो संसदको बुझ्न पाउने अधिकारको कुरा हो । यसको बारेमा संसद र आम जनताले जान्न पाउनुपर्छ भन्ने कुरा हामी निरन्तर लागिरहेका छौ, यो भोटको कुरा होइन ।’
त्यस्तै उनले सरकारले एकलौटी ढंगले बनाएको बजेटले निराशा मात्रै बढाएको उनले टिप्पणी समेत गरे ।
मन्त्रीले बजेट छलफलमा आएको सुझाव महत्वपूर्ण हुन्छ भनेर सोचेको भए त्यसको फाइदा सबैलाई हुने उल्लेख गर्दै एक्लौटी ढङ्गले निमार्ण भएको बजेटले निराशा मात्र थपेको उनको तर्क छ ।
उनले भने, ‘बजेटको छलफलमा हामीले सुझावहरु दिएका थियौ, दलहरुका सुझाव महत्वपूर्ण हुन्छ भनेर सोच्नु भएको भए बजेट अलि फरक ढङ्गले आउन सक्थ्यो कि भन्ने लागेको छ । त्यसको फाइदा सबैलाई हुने थियो तर जसरी एक्लौटि ढङ्गले निमार्ण भएको छ । यो विग्रिदै गएको आर्थिक अवस्थाका बीच जुन निराश जनतालाई, व्यवसायहरुलाई कुनै आशा दिन सक्दैन् । आशा जगाउने कुनै काम गर्न सक्दैन् ।’
उनले बजेट निर्वाचन क्षेत्रलाई हेरेर होइन देशको भविष्य हेरेर निमार्ण गर्नुपर्ने भन्दै अहिलेको बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको बताए ।
उनले भने, ‘बजेट बनाउने भनेको देशको भविष्य हेरेर कुनै पार्टी र निर्वाचन क्षेत्रलाई हेरेर होइन । अनुमान, अनुदान र ऋणमा आधारित बजेट छ, यति उठ्ला, यति अनुदान पाइएला र यति ऋण लिउला भनेर बनेको बजेट ठिक ठाँउमा खर्च गर्न सक्नुपर्छ ।’
