काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोगमात्रै भएको बताएका छन् ।
बुधवार राष्ट्रिय सभामा सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण एकै दिन भएको प्रति शंका व्यक्त गर्दै प्रधानमन्त्रीसंग जवाफ माग गरे ।
सोहि क्रममा प्रधानमन्त्री दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्र्दभमा राष्ट्रपतिलाई आफूले सुझाव मात्रै दिएको बताउँदै आफ्नो भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको स्पष्टीकरण दिए ।
उनले सदनमा पुनः विधेयक फिर्ता पठाउँदा सदनको सार्वभौम अधिकार राष्ट्रपतिको स्वविवेकमा जाने र त्यसले संविधान र लोकतन्त्रको रक्षाको लागि भोलि खतरा आउन सक्ने भन्दै चिन्ता प्रकट गरे ।
उनले भने , ‘मानौ हामीले दुवै सदनबाट कुनै विधेयक पारित गरेपनि राष्ट्रपतिलाई मन परेन भने उहाँले पनि होल्ड गर्दिन बाटो खुल्यो। त्यसले सदनको सार्वभौम अधिकार राष्ट्रपतिको स्वविवेकमा जाने भयो। उहाँलाई मनलागे प्रमाणीकरण गर्ने नलागे नगर्ने, भोलि संवैधानिक परिषद्ले ठूल्ठूला संवैधानिक नियुक्तिको निर्णय गर्छ, त्यो राष्ट्रपतिलाई मन नपरे प्रमाणीकरण नगरिदिने बाटो खुल्ने भयो । यही समस्या परेको छ । संविधान र लोकतन्त्रको रक्षा गर्ने उपाय के हो भन्ने निकै ठूलो प्रश्न यो भित्र अन्तरनिहीत छ ।’
प्रधानमन्त्री दाहालले नागरिकता विधेयकलाई पुनः राष्ट्रिय सभामा ल्याएर लैजाने हो भने त्यसले राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउने भन्दै सार्वभौम अधिकार राष्ट्रपतिमा पुग्ने चिन्ता व्यक्त गरे ।
उनले नागरिकता विधेयक बारेमा देखिएको मूल समस्याको समाधान गर्नलाई पनि राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउने भन्दा सार्वभौम अधिकारको विषय सबैको चासोको विषय बनाएर समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताए ।
उनले सार्वभौम अधिकारको निरन्तरता सदन र सरकारको हुने भन्दै नागरिकता विधेयकबारे अदालतले स्टे अर्डर दिइसकेकाले सो बारे संविधान र लोकतन्त्रको मर्म एवं भावना बाहिर गएर फैसला नगर्ने विश्वास व्यक्त गरे । उनले सर्वोच्चको फैसला मान्य हुने पनि बताए ।
