काठमाडौं । नेकपा एमालेले बजेट निर्माणका क्रममा विचौलियालाई भित्र्याएर मध्यरातमा करका दर परिवर्तन गरिएको आरोप लगाएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीले मंगलबार प्रतिनीधि सभामा बजेट निर्माणको न्यूनतम मान्यता समेत उलंघन गर्दै विचौलियाको चाहाना बमोजिम करका दर परिर्वतन गरिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘बजेट भाषणको अघिल्लो दिन मध्य रातमा विचौलीयाहरु लगेर करको दर तलमाथि गर्ने काम भएको छ । जब बजेट बन्छ त्यसको निस्चित ठाउँमा बस्ने प्रवाधान हुन्छ। तर त्यहाँ मन्त्रीको स्वकीय सचिवदेखि लिएर सबै खाले मान्छेहरु भित्र बाहिर भएको हुन्छ । सबैले भित्रबाट फोन गरिरहेका हुन्छन् । त्यँहा कुनै सुचना कुनै गोपनीयता कायम गरेको हुँदैन् ।’
विचौलियाको चाहाना बमोजिम बनेको बजेटको ब्रिफकेस रिवनले बाधेर संसदमा प्रस्तुत गरिनु दुर्भाग्य भएको उनको भनाइ छ ।
‘अर्थमन्त्री ज्यूले बजेट भाषण दिने क्रममा रिबनले मात्र ब्रिफकेसले बाँधेर के गर्नु । बजेट बन्ने बेला विचौलीयाको इन्ट्रेस्टमा बनेको हुन्छ भन्ने कुरा सुन्दा यो भन्दा दुर्भाग्यको कुरा के हुन्छ,’ उनले भने ।
