इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिका मगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ५० वर्षीय मनिल ढकालले आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले शनिवार बिहान ६ बजे विद्यालयको शौचालयमा गाई शरिरमा पेट्रोल खन्याएका थिए । त्यसपछि सलाई कोरेर आगो लगाएका थिए । आगोका कारण उनको शरिर पुरै जलेको छ । घटना लगतै प्रहरी उनको उद्धारमा खटिएको थियो । उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका कारण थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर अस्पताल रेफर गरिएको छ । उनलाई अहिले काठमाडौं लगिँदैछ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले उनको अवस्था गम्भीर रहेको बताए । उनले भने,‘श्री माध्यामिक विद्यालयका लेखापलले विहानै आत्मदाहको प्रयास गरेको देखियो । उनको स्वास्थ्य अवस्था गम्भिर छ । थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको छ ।’
प्रहरीका अनुसार शरिरमा आगो लगाउनु अघि उनले मेटासिट खाएका थिए । उनी शनिवार बिहानै घरबाट निस्किएका थिए ।
