काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता भएको छ ।
चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट भएको हो ।
नेपाली प्रतिनिधिमण्डलसहितको सहभागितामा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि आजै प्रधानमन्त्री दाहाल प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए । प्रधानमन्त्री दाहालले आजै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता भेट गरेका थिए ।
