काठमाडौं । नेपाली कांँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो चालु अधिवेशनबाट नै पास गर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक छिटै नै निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ । संसदबाट हामीले समितिमा पठाएका छौँ । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ । यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ । हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ । बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका जतिपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र यो विधेयक छन्, चाँडो भन्दा चाँडो, हामी त्यसलाई टुंगोमा पुर्याउनेछौँ ।’
प्रमुख सचेतक लेखकले सबै राजनीतिक दलहरु मिलेर देशको सफलताका लागि अगाडि बढ्नुपर्ने पनि बताए ।
