काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिचयपत्र बनाउदा महिलाहरुले सिन्दुर पखाल्नु पर्ने नियम नेपालको संस्कृतिविरुद्ध भएको बताएका छन् ।
पेशागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा आयोजित सुशासन र विकासमा पेशाकर्मीहरुको भूमिका विषयक विचार गाष्ठि कार्यक्रममा बोल्दै उनले परिचयपत्र बनाउदा सिन्दुर पुछ्नुपर्ने नियम गलत भएको भन्दै यसलाई अस्वीकार गर्नु पर्ने बताए ।
उनले भने, ‘मैले सुनेको कुरा अहिले परिचयपत्र बनाउदाँ महिलाहरुलाई सिन्दुर पखाल्नको लागि पानी राखिएको हुन्छ । पुस्नलाई कपडा राख्दिएको हुन्छ रे, सिन्दुर पखाल्नु पर्छ रे, पोते फुकालेर फोटो खिच्नुपर्छ रे । यो नेपालको संस्कृति विरुद्धको कुरा हो त्यस्तो यदि हो भने यो नेपालको संस्कृति विरुद्ध छ ।’
कहीँ पनि आफ्नो संस्कृतिको विरुद्धमा नियम नबाइएको भन्दै उनले सरकारको यो नियमप्रति आपत्ति जनाए । ‘पंजाबीहरुले पगडि खोल्न नमिल्ने नेपालीले सिन्दुर चाहि पखाल्नु पर्ने यो नेपाली संस्कृति विरुद्धको कुरा हो । सिन्दुर श्रीमानसँगै आउँछ, सिन्दुरश्रीमानसँगै जान्छ मान्यता राखिन्छ बीचमा कसैले पखाल्न पाइदैँन् । हाम्रो परम्परा विश्वासको कुरा हो, यस्तो विषय कहिले कहिले आउँछ,’ उनले भने ।
अध्यक्ष ओलीले देश आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अप्ठ्यारो स्थितिमा पुगेको भन्दै देश र जनताप्रति इमान्दारिता र निष्ठाका साथ काम गर्नुपर्ने बेला आएको बताए ।
