काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडीमा ढुंगामुढा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधवार कोशी प्रदेश एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा नं. ३ घर्तीदोभान नजिकै उनको गाडीमाथि ढुंगामुढा भएको थियो ।
एमालेले घटनाको निन्दा र भर्त्सना गर्दै घट्नामा संलग्न समूहमाथि कानूनी कारबाहीको माग गरेको हो ।
हिंसात्मक घटनामा संलग्नलाई तुरुन्तै पक्राउ गरी कारबाही गर्न केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्तिमार्फत माग गरेका छन् ।
कोशी प्रेदशको नामकरणका विषयमा असमहत समूहले रानामाथि ढुंगामुढा गरेका थिए । रानाले तत्कालीन प्रदेश एक सभामा प्रदेशको नाम कोशी राख्ने प्रस्ताव गरेका थिए ।
