काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले डिल्ली बजारस्थित कारागारमा केन्द्रीय पदाधिकारीको बैठक बेलाएको छ । बैठकमा रेशम चौधरीको सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसलाको सम्बन्धमा छलफल हुनेछ ।
कारागारमा रहेका चौधरीले बैठक बेलाउन लगाएका हुन् ।बैठक आज(बुधवार) १० बजेपछि बस्दैछ । नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले कारागारमा पार्टीको बैठक बेलाइएको जानकारी दिए ।
उनले भने,‘कारागारमा पार्टीको बैठक बेलाइएको छ । १० बजेपछि बैठकमा हामी सहभागिहुने कार्यक्रम छ । चौधरीको सन्र्दभमा सर्वोच्च अदालतले गरेको फैसलाको बिषयमा बैठकमा छलफल हुनेछ ।’
महासचिव थापाका अनुसार बैठकमा पार्टीका पदाधिकारी र अगुवा नेता सहभागी हुनेछन् । सर्वोच्चले मंगलवार चौधरी विरुद्ध उच्च अदालत दिपायलकै फैसला सदर गरेको थियो ।
उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै चौधरी विरुद्ध जन्म कैदको फैसला सुनुवाई गरेको थियो । सोही फैसलापछि चौधरी अहिले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
