इलाम । पूर्वी इलामसहित कोशीका १४ वटै जिल्लामा गाईमा देखिने पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोग फैलिएको छ ।
यो रोग इलाममा रहेका १ लाख ४८ हजार ३ सय ९३ गाईहरुमा १३ हजार ५७गाईहरु यो रोगबाट संक्रमित भइसकेका छन् । जसबाट ३५७ वटा गाई मरेका छन् । अहिले संक्रमणको दर पनि बढिरहेको छ भने गाईको मृत्युदर पनि बढ्दो क्रममा रहेको छ ।
दुध उत्पादनमा मुलुककै अव्वल जिल्ला मानिएको इलाममा अहिले दूधको उत्पादनमा ४० प्रतिशतले कमी आएको छ । यसरी नै यो रोगको संक्रमण फैलिदै जाने हो भने कृषकहरुलाई हातमुख जोड्न समस्या हुने देखिन्छ ।
यसरी रोगबाट पूर्वी नेपालमा हजारौँ पशु चौपायको मृत्यु भइसकेको छ तर सरकारको तर्फबाट कृषकलाई कुनै राहत कार्यक्रम घोषणा भएको छैन । केही स्थानीय सरकारले यस रोग विरुद्ध खोप अभियान सुरु गरेपनि केन्द्रीय सरकार भने यो रोगको बारेमा अहिलेसम्म बेखबर रहेको छ ।
इलाममा पनि यो रोग अहिले दशवटै पालिकामा पुगिसकेको छ । दूग्ध उत्पादनका लागि कोशी प्रदेशकै अगुवा जिल्लाको रूपमा रहेको इलाममा लम्पी रोगका कारण गाईको मृत्युको संख्या दिनानुदिन बढ्दो छ ।
अहिले इलाममारोग गाउँभरि फैलिएको र गाउँपालिकाले पनि अहिलेसम्म कुनै प्रकारको सहयोग नगरेको माइजोगमाई गाउँपालिकाकी किसान गीता पौडेल बताउँछिन् ।
रोग बढेपछि इलाम नगरपालिकाले भने नगरका १२ वटै वडाका स्वास्थ्य पशुलाई लम्पी रोगविरुद्धको खोप अभियान सुरु गरेको नगर पालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए ।
यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ। गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रियहुने सिजन बढेसँगै कोशी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको छ ।
