काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको वैठक सुरु भएको छ ।
बैठक सुरु भएलगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदनमा राप्रपाको महाधिवेशन र पुस्तान्तरण, निर्वाचनमा राप्रपाको अवस्था, संर्वद्धनवादी विश्व सञ्जालमा राप्रपा, राजसंस्था र हिन्दूधर्म , निर्वाचनको जनादेश, सरकारको काम कारवाहीप्रति राप्रपाको दृष्टिकोण विषयलाई उठान गरिएको छ ।
देशमा चौतर्फी संकट मडारीरहेको समयमा राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धिका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न वैठकले विस्तृत छलफल गर्ने राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।
प्रवक्ता लावतीका अनुसार, ठूलाठूला घोटाला र भ्रष्टाचारका अपराधमा दण्डहिनताको अन्त्य, चुस्त दुरुस्त पार्टी संगठन र आन्दोलन लगायतका विषयमा वैठकले आगामी कार्यदिशा र कार्यभार समेत तय गर्ने भएको छ ।
एस आर बैंकेट, धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ ।
