काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको कार्वाहीमा आम जनताले दिएको साथले सरकारलाई थप उर्जा मिलेको टिप्पणी गरेको छन् ।
शनिवार लोक साहित्यकार,संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा.ससत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारको जालोलाई तोड्ने क्रममा गरेको काममा आम जनताको सहयोगले सरकारलाई थप उर्जा मिलेको बताएका हुन् ।
उनले भने, ‘समृद्धिको कुरा गर्ने भाषण गर्ने तर कमिसनको जालो र भ्रष्टाचारको जालोलाई तोड्न नसक्ने हो भने सुशासन स्थापित गर्न नसक्ने पुष्टि भइसकेको छ । अहिले सरकार सुशासनलाई स्थापित गर्ने समृद्धिको यात्रालाई तीव्र गर्ने कुरालाई गर्ने र सामाजिक न्याय स्थापित गर्ने कुरामा दृढ छ । त्यही क्रममा केही कार्वाही अगाडि बढेको छ यस प्रकारको आम समर्थन स्थिर छ । त्यसले सरकारलाई उर्जा दिएको छ । बलियो बनाएको छ । सबैको साथ सहयोगबाट समर्थन सहित सुशासनको अभियान अगाडि बढाइने छ ।’
उनले समस्या र चुनौतीहरुलाई चिर्दै समृद्धिको लक्ष हासिल गर्नुको कुनै अर्को विकल्प नभएको तर्क गरे । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनले मात्र समृद्धिको लक्ष हासिल गर्न सकिने उनको भनाइ छ ।
