काठमाडौं । प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्।
हत्या अभियोगमा फरार रहेका सांसद कोइरीलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन्।
नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै संसद सचिवालयलाई दोस्रो पटक पत्र पठाएपछि सभामुख घिमिरेले मंगलबार निलम्बनको निर्णय गरेका हुन्। प्रतिनिधिसभाको बैठक नचलेकाले प्रतिनिधि सभा नियमावली २०७९ मा भएको व्यवस्था बमोजिम संसद सचिवालयले सूचना पाटीमा कोइरी निलम्बनसम्बन्धी सूचना टाँसेको हो।
२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्या आरोपमा उच्च अदालत जनकपुरले कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। फरार रहेकै अवस्थामा गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी १ मा एमालेका उम्मेदवार बनेर कोइरीले निर्वाचन जितेका थिए।
प्रतिनिधिसभा नियमावली अनुसार पुर्पक्षका लागि थुनामा बस्नुपर्ने सांसद फरार रहे स्वतः निलम्बन हुने व्यवस्था गरेपनि प्रहरीबाट पत्र नआएको भन्दै संसदले कोइरीलाई निलम्बन गरेको थिएन। तर आइतबार प्रहरीले पुनः पत्र पठाएपछि सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका हुन्।
