काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मुकदर्शक बनेको गुनासो गरेका छन् ।
पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरुमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरुले ढुंगामुढा गरेको बताए ।
हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उनको भनाइ थियो । ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरुले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाए ।
उनले वर्तमान गठबन्धन सरकारले मुखले जे सुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाए । आफूहरुमाथि गाली बेइज्जति, अश्लिल शब्दको बर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताए ।
ओलीले फटाहा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गरे । स्वार्थी तत्व र बिकाउ मालहरु, अपराध कर्ममा लागेकाहरुले मात्रै राजतन्त्रलाई मान्ने उनको आरोप थियो ।
