काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासन आयोगको बैठक बोलाएको छ ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो टेपबारे छलफल हुनेछ ।
पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ । अडियो सार्वजनिकलगत्तै स्पष्टीकरण सोधिएकोमा श्रेष्ठले सोमबार स्पष्टीकरण बुझाइसकेका रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले जानकारी दिए ।
उनले स्पष्टीकरणमा आफूलाई जोडेर आएको अडियो नक्कली भएको उल्लेख गरेका छन् । सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू स्वास्थ्य मन्त्री हुन लागेकाले २ करोड सहयोग गर्न आग्रह गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
उनले अडियोमा पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन् । उनले सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको ‘कोर टिम’ ले रकम मागेको पनि बताएका छन् ।
