काठमाडौं । काठमाडौं महानगरपालिकाले आज(शनिवार)बाट सिंहदरबारभित्रको फोहोर नउठाउने भएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक दलका नेताप्रति कडा टिप्पणी गर्दै देश सफा गर्न नेताहरु आफैं लाग्नुपर्ने बताएका हुन् ।
उनले स्टाटसमा भनेका छन्,‘आजबाट सिंहदरवारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
उनको टिप्पणीलाई कतिपयले केन्द्र सरकारले गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउन असहयोगको प्रतिक्रियाका रुपमा विश्लेषण गरेका छन् ।
काठमाडौं महानगरपालिका शुक्रवार बस्ति हटाउन डोजरसहित गैरीगाउँस्थित सुकुम्वासी बस्ती पुगेको थियो ।
स्थानीयले अवरोध गरेपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौंसँग सहयोग माग गरेका थिए । तर, परिसरले आदेश नआएको भन्दै प्रहरी परिचालन गर्न अस्वीकार गरेको थियो ।
गैरीगाउँ पुगेका मेयर बालेन्द्र त्यसपछि फर्किएका थिए ।
