झापा । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले आफू विगतमा धेरै संघर्ष पार गर्दै आएको बताउँदै पुरुषसरह लडिरहने बताएकी छन् ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको २८ औं स्थापना दिवसमा आयोजना विविध कार्यक्रमहरूको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्ना पहिलाका कष्टपूर्ण दिनहरू सम्झिन् ।
विद्यालयमा पढ्दा होस् वा अन्य कुनै कार्यक्रमहरूमा सहभागी हुँदा होस्, पुरुषहरूसँग प्रतिस्पर्धा गरेर वर्तमान अवस्थासम्म आइपुगेको उनले बताइन् ।
उनले भनिन्, ‘म निगुरो बेचेर यहाँसम्म आइपुगेको मान्छे हुँ । काठमाडौं आइपुग्दा पनि खुट्टामा चप्पल पनि हुँदैनथ्यो । चाहे साइकल चलाउँदा होस् वा कुनै प्रतिस्पर्धा गर्दा, म पुरुष साथीहरूसँगै प्रतिस्पर्धा गर्थें ।’
उपसभामुख राना मगरले आफ्नै संघर्षमा आधारित उनले आफैंले २८ बर्ष अघि लेखेको गीत गाएर थिइन् ।
कार्यक्रम गीतकार बुद्धबीर लामाका गीत सुनेपछि उनले गीत गाएकी थिइन् । उपसभामुख राना मगरले भनिन्, ‘बुद्धबीर दाइले च्यालेन्ज गरेपछि मैले पनि कहाँ त्यतिकै छोड्नु र ।’
सहारा नेपाल साकोसले आफ्नो स्थापना दिवसको अवसरमा तीन दिनसम्मका लागि विविध कार्यक्रमहरूको आयोजना गरेको छ । विगतमा गरिएका विविध कार्यक्रमहरूका तस्वीर तथा सहारा स्थापना भएका बेलाका विभिन्न सामाग्री पनि प्रदर्शनीमा राखिएको छ ।
सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कुँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको थियो ।
मानन्धरलाई नगद २५ हजार, लामालाई नगद ११ हजार तथा कुँवर र राउतलाई नगद ५ हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।
