काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीहरुको समस्या स्थायी रुपमा समाधान गर्न सरकार लागिपरेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए।
उनले मिटरब्याजलाई आर्थिक कसुर मानेर कारबाहीका लागि कानुन संशोधन गर्ने र मिटरब्याज पीडितको समस्या स्थायी रुपमा समाधान गर्ने अधिकारसहित जाँचबुझ आयोग गठन गरिएको बताए ।
‘मिटरब्याजको विषयलाई कानुनमा नै आर्थिक कसूर हो भनेर उल्लेख गर्ने र त्यसलाई कारबाही गर्ने भनेर कानुन संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । जाँचबुझ आयोग ऐन अन्तर्गत आयोग गठन गर्ने प्रस्ताव गरिसकेका छौं । आउँदो मन्त्रिपरिषदले निर्णय गर्नेछ’, उनले भने ।
यसपटक मिटरब्याज पीडितसँग समग्र समस्या समाधान गर्ने गरी सहमति गरिएको र मिटरब्याज पीडित पनि सन्तुष्ट भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
