काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आज बस्न बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ माथि दफावार छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ ।
जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाकारी दिएको छ ।
नियमावलीमा सभामुखको अधिकार कटौतिको प्रस्ताव लगिएपछि धेरै विवाद उत्पन्न भएका छन्। सत्तापक्षलेे राखेको संशोधन हुबहु पारित भएका सभामुख देवराज घिमिरेमाथि कार्यव्यवस्था परामर्श समितिबाटै निर्णय गराएर जानु पर्ने बाध्यात्मक अवस्था आइपर्नेछ।
यसबाहेक आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीसमेत रहेको छ।

