पश्चिम नेपालको पाल्पा जिल्लामा, काली गण्डकीको एउटा किनारमा तानसेन बाट झण्डै ३,००० फिटको गहिराईमा १३ किलोमिटरको दूरीमा एक विशाल चट्टन माथि निर्माण गरिएको छ ‘रानीमहल’…।
यो सुन्दर भव्य कलात्मक महल झण्डै एकसय वर्ष पुरानो आफ्नो प्रेमकथा बोकेर उभिइ रहेको छ ।
मुगल सम्राट शाहजहाँले जसरी आफ्नी प्यारी वेगम मुमताजको स्मृति जीवन्त राख्नका लागि ‘ताजमहल’ बनाउन लगाए, त्यसरी नै खड्ग शम्सेरकी मुमताज हुन् – ‘तेजकुमारी’ र तिनको स्मृतिमा तयार भएको थियो – ‘रानीमहल’ ।
प्रेमको प्रतिक, नेपालको ताजमहल भनेर चिनिने यो दरबार घुम्न जानेको ताँती लाग्छ।
जब ओली त्यहाँ पुगे…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पाल्पामा छन्। मंगलबार पाल्पा पुग्नासाथ ओलीले रानीमहल जाने चाह व्यक्त गरेका थिए।
मिसन ग्रासरुट अभियानका क्रममा पाल्पा पुगेका ओली मंगलबार दिनभर पार्टीको कार्यक्रम र भेटघाटमा व्यस्त हुँदा जान सकेनन्।
त्यसैले बुधवार विहानै उनी रानीमहल पुगे। पछिल्लो समय निकै जीर्ण रहेको उक्त महलको ओलीले अवलोकन गरे।
प्रेमको प्रतिक रानीमहलमा पुगेका ओलीले आफ्नी श्रीमति राधिका शाक्यलाई साथमा राखेर तस्बिर खिचाए। उनलाई त्यतिले धित मरेन, उनले रानीमहललाई पृष्ठभूमीमा राखेर राधिकासँग सेल्फीनै खिचे।
राजनीतिमा कठोर भएपनि व्यक्तिगत जीवनमा प्रेमिल र रसिक ओलीले श्रीमती शाक्यलाई रानीमहलको महिमा पनि सुनाए।
