काठमाडौं । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले सर्वोच्च अदालतमा न्यायाधीशको दरबन्दी अनुसार संख्या नहुँदा न्याय निरुपणमा ढीलाई भएको बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले अदालतमा परेको मुद्दाको संख्या धेरै तर, सर्वोच्चमा न्यायाधीशको रिक्त पाँच पदको पूर्ति नहुँदा त्यसको असर मुद्दा फर्छौटमा परेको र त्यसको शीघ्र पदपूर्ति गराउन माग गरेका छन् ।
उनले भने ‘पेसीको व्यवस्थापन गरिरहँदा खेरि मुद्दाहरुको समुह एक्काइस जना न्यायाधीशलाई लक्षित गरेर समुह बन्ने हुनाले हाम्रा मुद्दामा सेवाग्राहीलाई धेरै ठूलो चाप पर्यो। न्यायाधीश संख्या अपर्याप्त हुँदाखेरि समयमै न्याय निरुपण हुन नसकेको कारणले मुद्दाका समुह स्थिर भएकोले सेवाग्राहीलाई अत्यन्त ठूलो कठिनाई महशुस भएको छ ।’
अदालतमा एक्काइस जना न्यायाधीशको दरबन्दी रहेकामा बिगत छ महिना यता १६ जना मात्रै कार्यरत छन् । कानून अनुसार न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगाडि देखि नै पदपूर्तीका लागि प्रकृया अगाडि बढाउनु पर्छ । तर, त्यो नहुँदा एकातिर सर्वोच्चमा मुद्दामा चाङ छन् ,अर्कातिर आम नागरिकले समयमै न्याय पाउन सकेका छैनन् ।
पौडेलले न्यायिक प्रकृयालाई चुस्त बनाउनका लागि छिटो भन्दा छिटो दरबन्दी पूरा गर्नुपर्ने नत्र त्यसले समग्र मुद्दा व्यवस्थापन र अदालतको कार्यसम्पादनमा असर पर्ने बताए । अदालतमा परेका कूल २६ हजार, पाँच सय बढीको संख्यामा रहेका मुद्दा मध्ये यो वर्षको चैत सम्ममा सात हजार सात सय बढी मुद्दा मात्र फर्छौट भएको अभिलेख छ । त्यस्तै, २८ हजार आठ सय ५२ थान मुद्दा बाँकी रहेका छन् । यो वर्ष मात्रै अदालतमा छ हजार चार सय बहत्तर थान मुद्दा परेका छन् । अदालतमा २०६५ साल यताका विभिन्न मुद्दा फर्छौट हुनै बाँकी छ ।
