काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रतिनिधि सभा नियमावली २०७९ संशोधनका बिषयमा छलफल भएको छ । मस्यौदा प्रतिवेदन अहिले प्रतिनिधि सभामा विचाराधिन छ ।
मस्यौदा संशोधनका निम्ति संसदमा सहभागि दलका सांसदहरुले संशोधन प्रस्ताव राखेका छन् । सत्ता गठवन्धनसँग आवद्ध राजीतिक दल सभामुखको अधिकार कटौती गर्ने पक्षमा छन् । प्रतिपक्षी दल एमाले यसको विपक्षमा छ । मत विभाजन हुँदा संसद्मा सत्ता गठवन्धनको बहुमत पुग्छ । त्यसो हुँदा सभामुख घिमिरेले राजनीतिक दलसँगको छलफललाई तिब्र पारेका छन् । सभामुख घिमिरले आइतवार पनि संसद् भवनस्थित शंकर हलमा बिभिन्न राजनीतिक दलसँग छलफल गरेका थिए ।
भेटका क्रममा सदनका कामकारबाही प्रभावकारी बनाउने, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने र संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि छलफल भएको थियो ।
