काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका छन् ।
बिहीबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका हुन् ।
उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध रहेको पनि बताए ।
उनले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिवद्धता रहेको जानकारी दिए । वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले प्रविधिमैत्री सरकार र नेतृत्वको सकारात्मक भूमिका एवं पहलबाट मात्रै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे ।
उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रुततर रूपमा अगाडि बढ्ने संकल्पमा रहेको धारणा राखे ।
