काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निणर्य गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरुसंगै सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निणर्य गरेको हो ।
सम्मानजनक रुपमा सरकारमा सहभागीताका बिषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
उनले चुनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले बिभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले ५ बर्षै गठबन्धनको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्नुपर्ने बताए ।
बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उनले बताए । अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा भने पार्टीले आफू अनुकूलको तयारी गर्ने भण्डारीको भनाइ छ ।
बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन पुर्नगठनका साथ संगठनलाई सदृढिकरणमा ध्यान दिने निणर्य गरेको भण्डारीले बताए ।
