काठमाडौं । उपनिर्वाचन हुने क्षेत्रका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न शुरु गर्ने भएको छ ।
उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ। आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने निर्वाचन आयाेगले जनाएको छ।
आयाेगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ।
चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हाे।
चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनकाे सांसद पद गुमेकाे थियाे।
बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।
तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।
आयाेगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचाेटि निर्वाचन गर्ने जनाएकाे छ।
