काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका तर्कले सम्बन्ध बिग्रिएको जिकिर गरेका छन्।
प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै दाहाल संसद विघटन गर्नु कुनै गर्वको विषय नभएको बताए।
विश्वासको मत माग्दै उनले भने, ‘गठबन्धनका घटकबीच केही राजनीतिक र वैचारिक मतभेद थिए। तर, हामीले न्यूनतम साझा कार्यक्रम बनाएर सहमतिको आधार तयार गरेका थियौँ। विगतको मतभेदलाई नउठाउने समझदारी गरेका थियौँ। म त्यो प्रतिबद्धतामा कायम रहे तर केही पक्षबाट त्यसको पालना भएन। संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरङ्गीत पनि बन्यो। त्यो विषयको उठाउन सान्दर्भिक थिएन। देशमा ठुलो संवैधानिक र राजनीतिक संकट त्यो कदम कुनै गर्वको विषय थिएन।’
संसद् विघटनलाई सर्वोच्च अदालतले पनि दुई पटक असंवैधानिक भनिसकेको उल्लेख गर्दै संवैधानिक निरूपण भइसकेको अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्रै बढाएको उनको भनाइ छ।
