काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले जनयुद्धको एजेण्डा छाडेको आरोप लगाएका छन्।
शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रचण्ड र बाबुरामले तत्कालिन माओवादीका मुद्दा छाडेर केही साम्राज्यवादी र दलालको मुद्दा बोकेर हिडेको तर्क गरे ।
तत्कालिन जनयुद्धको नेतृत्व गरेका व्यक्तिहरु आफ्नो एजेण्डाबाट विमुख हुदाँ आम नागरिकको सरोकारका विषयमा ध्यान नपुगेको उनको टिप्पणी छ ।
कार्यक्रममा बोल्दै उनले माओवादी पार्टी एकताको अन्तिम चरणमा पुगेको समेत बताए । उनले नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र नेकपा मसालबीच एकीकरणको अन्तिम तयारी भइरहेको बताएका हुन्।
एकताका लागि छलफल भईरहेको बताएका उनले भने ‘पार्टी एकता हाम्रो अन्तिम चरणमा पुगेको छ । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र नेकपा मसाल तीनवटा पार्टीबीच छ महिना देखि छलफल भईरहेको छ । अब त्यो दिन धेरै टाढा छैन भन्ने बुझे हुन्छ ।’
