काठमाडौं । तेस्रो उपराष्ट्रपति चयनका लागि शुक्रबार मतदान हुँदैछ ।
शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ ।
उपराष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् ।
उनीहरुलाई छुट्टाछुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सभाका ५५० र संघीय संसद्का ३३२ जना मतदाता रहेका छन् ।
मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।
उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुनेछ ।
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला कुमारीको उम्मेदवारी परेको छ ।
तर, प्रमिलाले रामसहायलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसकेकी छिन् ।
