काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट रिक्त सांसद पदमा मञ्जु अन्सारीलाई पठाउने निर्णय गरेको छ । यसअघि मुस्लिम क्लस्टरबाट समानुपातिक सांसदको सूचिमा दोस्रो नम्बरमा रहेकी उनलाई बिहिबार बसेको केन्द्रिय कार्यकारिणी बैठकले प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गरेको हो ।
पार्टीका समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ गते हृदयाघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई पठाउने निर्णय भएको पार्टी प्रचार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए ।
उनले भने ‘ पार्टीको तर्फबाट रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदमा मञ्जु अन्सारीलाई पठाउने निर्णय आजको बैठकले गरेको छ ।’
रिक्त पदमा मुस्लिम क्लस्टरको बन्दसूचीबाट दोस्रो नम्बरमा रहेको नाम पठाउनुपर्ने व्यवस्था रहेकोले बिहिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।
अब जसपाले नाम पठाएपछि निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा अन्सारीलाई निर्वाचित भएको घोषणा गर्नेछ ।
