काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक निष्कर्षबिहीन सकिएको छ।
उपराष्ट्रपति निर्वाचनका सम्बन्धमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार को हुने भन्नेबारे मत बाँझिदा बुधवार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निष्कर्षबिहीन भएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बैठकमा उपराष्ट्रपतिमा साझा धारणा बनाउनेबारे छलफल भएको तर ठोस सहमति हुन नसकेको बताए। उनले भने ‘ अब पार्लीयामेन्ट सुरु हुदैँछ पार्लीयामेन्ट सुरु भएपछि गठबन्धनको तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषय सामान्य छलफलका विषय थिए भने विशेषत उपराष्ट्रपति निर्वाचनको निम्ति १० दलीयको बीचमा सहमति कायम गर्ने विषयमा छलफल भएको थियो । छलफल सकरात्मक भएको छ र भोली यो विषयमा बसेर एउटा अन्तिम धारणा बनाउने निर्णय भएको छ ।’
भोली आवश्यकता अनुसार विभिन्न दलबीच छलफल हुने र आवश्यक परे १० दलको बैठक बस्ने उनको भनाई छ । प्र्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा गठबन्धनमा छलफल सुरु भएको पनि उनले जानकारी दिए ।
