काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनलाई १० वटा टाउको भएको रावण जस्तै भएको भन्दै व्यङ्ग्य गरेका छन्।
मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले १० दलीय गठबन्धनका नेताहरुले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप लगाएका छन् । उनले भने ‘१० दलीय गठबन्धनको १० वटा टाउको एकै ठाउँ जम्मा भएको छ १० वटा टाउको रावणको हुन्छ । अहिलेका रावण महिलाका हक अधिकार हनन् गर्न लागि परेको छन् ।’
राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनु पर्छ भन्ने संविधानको भावनालाई अहिले १० दलिय गठबन्धनका नेताहरुले मिच्ने र महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप लगाएका हुन् ।
उनले भने ‘राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनु पर्छ संविधानको भावना त्यही हो । अहिले १० दलिय गठबन्धनका नेताहरु संविधानको त्यो मर्म मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरिसके, अरु संस्थाहरुलाई पनि प्रयोग गर्न सक्छन् ।’
उनले एमालेबाट उपराष्ट्रपति उम्मेदवार अष्ट लक्ष्मी शाक्य एमाले पार्टीको मात्र नभएर देश र राष्ट्रको लागि भएको बताए ।
