काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन्।
संघीय र प्रदेश सभाका ८ सय ८५ सांसदहरुलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन्।
सन्देशमा २०७९ चैत्र ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिई विजयी गराउन यादवले अनुरोध गरेका छन्।
‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधिनताको रक्षा, शान्ति, स्थिरता र सुशासन सहित जनताको समुन्नती र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ।
यादवले सबै सांसदहरुलाई भोट अपिल गर्दै पत्र समेत पठाउने तयारी गरेका छन्।
