काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ।
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं।’’
प्रवक्ता शर्माले मुस्ताङमा कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको सम्बन्धमा मिडियामा आएका विषयको आवश्यक छानबिन गरेर सत्य र तथ्य सार्वजनिक गर्नेसमेत उल्लेख गरेकी छिन् ।
सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रुपमा शृङ्खलाबद्ध रुपमा सार्वजनिक हुनु दुःखद् रहेको उनको भनाइ छ। उहाँले पराराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नहुने उनले बताइन् ।
