काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्दा समेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन् । आइतबार काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
उनले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री प्रचण्डको पार्टीले कुनै आवाज नउठाएको विषयमा प्रश्न गरे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै उनले माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए ।
माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्याउने उनको चेतावनी थियो । “हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिंगजस्तो, उदासजस्तो, जसले गर्व गरेर यो देशमा हाँस्नुपर्ने हो, त्यो उदासजस्तो, निराशजस्तो, जो मानिसहरूले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्नुपर्नेजस्तो के हो यो देशमा । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोहोर्याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवादी ब्युँताउन सकिन्छ।
