काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले गरेको आदेशप्रति आपत्ति जनाएको छ ।
पार्टी महासचिव देवप्रसाद गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गरी बदर भइसकेको निवेदनलाई सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले पुनः दर्ता गर्न दिएको आदेशप्रति आपत्ति जनाएका हुन् ।
‘यस पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान प्रदत्त वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रमहरूमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनुपर्छ भनी कलुषित पूर्वाग्राही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्तविपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकूल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौं‚’ विज्ञप्तिमा भनिएको छ ।
दसवर्षे जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा वृहद् शान्ति सम्झौताले निर्देशित गरेबमोजिम सत्यनिरुपण तथा वेपत्ता छानबिन आयोग गठित भएको भन्दै विज्ञप्तिमा लेखिएको छ‚ ‘ती आयोगहरू संक्रमणकालीन न्यायिक कारबाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशील भइरहेको परिप्रेक्ष्य उक्त आयोगको अधिकारक्षेत्रभित्रका विषयहरुलाई प्रतिकूल असर पर्नेगरी कुनै पनि अधिकारक्षेत्र ग्रहण गर्न, कारबाही अगाडि बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने स्मरणसहित सचेत गराउन चाहन्छौं ।’
तत्कालीन विद्रोही नेकपा (माओवादी) बाट मारिएका रामेछापका टीकाराज आरणका छोरा ज्ञानेन्द्रराज आरणसहित १५ जनाले दिएको एउटा र माओवादीद्वारा विस्थापित तथा घाइते बनाइएका रामेछापकै कल्याण बुढाथोकीसहित ८ जनाले दिएको अर्को गरी दुई वटा छुट्टाछुट्टै निवेदन दर्ता गर्न सर्वोच्चले आफ्नै प्रशासनलाई आदेश दिएको हो ।
उनीहरूले गत कात्तिक १४ मा सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । त्यसविरुद्ध निवेदकहरूले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए । त्यही निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय खतिवडा र फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो ।
दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । ‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको । साथीहरू, यो सत्य होइन । हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु,’ दाहालले भनेका थिए, ‘तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रारनराम्रा काममा म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन’
दाहालको यस्तो अभिव्यक्तिले द्वन्द्वको समयमा भएको व्यक्ति हत्यामा उनको संलग्नता पुष्टि हुने भन्दै निवेदनमा उनलाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्न माग गरिएको छ ।
