काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन्।
एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताएका हुन्।
‘एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छु, उनले भने, हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पुर्याउनुपर्दछ ।’
उनले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध र अनुशासित बनाएर काम गर्न निर्देशन दिए।
उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरे । अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेद्भाव पनि नगर्ने बताए। ‘पार्टीले भेद्भाव गर्दैन। भेद्भाव आफूले आफैँलाई नगरौँ’, उनले थपे।
अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताए।
