बिर्तामोड । प्रतिनिधि सभाका सभामुख तथा झापा क्षेत्र नं २ का सांसद देवराज घिमिरेले बिर्तामोड नगर अस्पताल गरिब जनताको उपचार गर्ने भरपर्दो अस्पताल बन्नु पर्ने बताएका छन् ।
शनिबार बिर्तामोड नगर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै सभामुख घिमिरेले अस्पतालको संरक्षण स्थानीयबासीले नै गर्नुपर्ने बताए ।
उनले १५ शैयाको बिर्तामोड नगर अस्पताल निजी अस्पतालहरूको विकल्पको रुपमा स्थापित हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘गरिब जनता निजी अस्पतालमा जानसक्ने अवस्था छैन । त्यसैले यो अस्पतालले त्यस्ता जनतालाई भरपर्दो उपचार गर्नुपर्छ ।’
अस्पतालको सञ्चालनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सामान्य स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै केन्द्र तथा प्रदेश सरकारको सहयोगमा बिर्तामोड नगरपालिकाले १५ शैयाको अस्पताल बनाएको हो ।
अस्पतालमा तीन जना चिकित्सकलगायत ३६ जना कर्मचारी रहने नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् ।
अस्पताल भवन उद्घाटन कार्यक्रममा अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।
