काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिका हकमा के गर्ने भन्ने विषयमा फागुन २४ गते निर्णय गर्ने भएको छ।
राष्ट्रपति निर्वाचनमा मत दिन भन्दै राप्रपा पार्टी कार्यालय पुगेका सुवास नेम्वाङसहितका एमाले प्रतिनिधिलाई राप्रपाले २४ गते निर्णय गर्ने जवाफ दिएको छ।
करिब १ घण्टा चलेको छलफलमा राप्रपाका नेताहरुले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई लिएर आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
‘सुवास नेम्वाङलाई लिएर हामी सकारात्मक छौँ, हाम्रो सद्भाव सधैँ रहन्छ भनेर उहाँहरुले विश्वास देखाउनु भएको छ,’ छलफलमा सहभागी एमाले नेतृ विद्या भट्टराईले खबरमञ्चसँग भनिन्।
छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा पनि एमालेसँग सहकार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग र समन्वय जारी रहने बताएका थिए। तर राष्ट्रपति निर्वाचनका हकमा भने के गर्ने भन्ने विषयमा तत्काल कुनै ठोस जवाफ दिन नसकिने उनको भनाइ थियो। ‘सुवासजीलाई दिएर कुनै द्वुविधा छैन, तर यस विषयमा पार्टीमा अन्य साथीहरुसँग पनि छलफल गर्छौँ, फागुन २४ गते हामी निर्णयमा पुग्छौँ,’ लिङ्देनको भनाई उदृत गर्दै छलफलमा सहभागी अर्का एक नेताले भने।
