काठमाडौं । राष्ट्रपति चयनमा कांग्रेस नेतृत्वको पुरानो गठबन्धनले साझा उम्मेदवार तय गर्ने निणर्य गरेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच भएको बैठकले पार्टी भित्र छलफल गरेर साझा उम्मेदवार तय गर्ने निणर्य गरेको कांग्रेस महामन्त्री थापाले जानकारी दिए ।
राष्ट्रपतिको उम्मेदवारका बिषयमा दलहरुको आफ्नै प्रस्ताव आइरहेको र प्रस्तावका बारेमा छलफल गरेर आवश्यक निणर्यमा पुग्ने उनले बताए। उनले राष्ट्रपतिका बिषयमा आफूहरु एकै ठाँउमा उभिने दावी गरे ।
आन्तरिक छलफल गरेर दलहरू फेरि बैठक बस्ने र राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउने नेताहरुले जनाएका छन् । राष्ट्रपति निर्वाचनका विषयमा दलहरूको यो कसरतसंगै अहिलेको सत्ता गठबन्धन टुट्ने संभावना बढेर गएको छ ।
