काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा राजनीति पेचिलो बन्दै गएको छ।
मौजुदा सत्ता गठबन्धनका तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेद्वार अघि सार्ने भनेपनि कुरा मिल्न सकेको छैन।
पुस १० गते प्रधानमन्त्री बन्नुअघि माओवादीसँग भएको सहमतिलाई लिएर माओवादीले मुख फेरेपछि गठबन्धनकै भविष्य संकटमा परेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाट बढी चेपुवामा पार्न खोजिएको विश्लेषण गर्दै चुनावअघिको गठबन्धन ब्युँताउने र त्यहीँबाट राष्ट्रपति बनाउन चाहेका छन्।
उनले एमालेलाई राष्ट्रपति दिए जुनसुकै समय आफूले सत्ता गुमाउनु पर्ने भन्दै कांग्रेलाई राष्ट्रपति दिएर पाँचै वर्ष आफू प्रधानमन्त्रीमा रहन खोजेका छन्।
बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुसँगको छलफलमा पाँच दलीय गठबन्धन ब्युँताउनेबारे छलफल सुरु भएको हो।
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीले अडान लिएपछि सत्ता गठबन्धनमा विवाद आएको थियो।
