काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसतिर ढल्किँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई राष्ट्रपति नदिने मनसाय बनाइरहँदा ओलीले विकल्प खोजेका हुन्।
राष्ट्रपतिको निर्वाचन नजिकिरहँदा यतिबेला माहोल चर्किएको छ। यसैबीच आइतबार एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको भेटमा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको बताइएको छ ।
भेटवार्तामा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको थियो।
एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेको बताइएको छ।
