काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरेकी छन्।
सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै उनले सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिन्। “सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सरकारले अघि सार्ने नीति तथा कार्यक्रम, बजेट एवं नागरिकको समृद्धि र विकासप्रतिको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्नेछन्”, सम्बोधनमा उनले भनिन्, “नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट पूर्ववत् सहयोग मिल्ने विश्वास गर्दछु ।”
वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको जनाउँदै उनले ती विषयहरूलाई सरकारले समयबद्ध कार्ययोजना बनाएर नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजाने नै विश्वास व्यक्त गरेकी छन्।
“नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा यी सबैलाई समेट्दै सोका आधारमा बजेटमा आवश्यक स्रोत व्यवस्थापन गर्ने नै छ”, सम्बोधनका क्रममा उनले भनिन्।