काठमाण्डौं । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापा राप्रपामा प्रवेश गरेकी छिन् ।
सोमबार राप्रपाले एक कार्यक्रमको आयोजना गरेर नायिका थापालाई पार्टी प्रवेश गराएको हो । पार्टी प्रवेश कार्यक्रममा नायिका थापाले राप्रपाबाट सक्रिय राजनीतिमा आएको बताएकी छिन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका थापाले कुनै स्वार्थ र लोभमा परेर राप्रपा प्रवेश गरेको नभइ हिन्दु नारी भएकाले एकिकृत भएको पार्टीमा सक्रिय हुन चाहेको बताइन् ।

‘म हरेक दिन, हरेक पर्वमा हिन्दु धर्म अनुसार पूजा आरधना गर्छु, मेरो संस्कार र मेरो धर्मलाई आत्मसाथ गर्छु, त्यस्तो हिन्दु संस्कारलाई राप्रपाले मात्र संरक्षण गर्न सक्छ जस्तो लाग्छ,’उनले भनिन,‘मेरो जीवनको अन्तिम पार्टी पनि राप्रपा नै हो ।’ उनले भनिन् ।
हिन्दु धर्म र राष्ट्रियताको संरक्षण राप्रपाले मात्र गर्न सक्ने भएकाले देश र जनताका पक्षमा लड्न पार्टीमा सक्रिय हुन चाहेको बताइन् । उनले आफ्ना चलचित्रहरुमा पनि नारी, राष्ट्रियता र हिन्दु धर्मको आवाज उठाउँदै आएको बताइन् । यसअघि नायिका थापा माओवादी केन्द्रमा सक्रिय रहेकी थिईन् ।