चितवन – नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।
नेकपा एमाले चितवनले आज भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन् ।
उपाध्यक्ष शाक्यले संविधान विपरित संशोधन प्रस्ताव ल्याएर सरकारले बखेडा निकालेको बताउँदै ‘साँच्चिकै नै देश सुदृढ र बलियो बनाउने हो भने संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्छ भनिन् ।
सीमाङ्कनको विषयमा आयोगमार्फत काम गराउनुपर्नेमा जोड दिदै उनले भनिन् – संविधान संशोधन प्रस्ताव अहिले बेमौसमको बाजा भएको छ ।
।
उपाध्यक्ष शाक्यले नेकपा (एमालले)ले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुनलागेको जानकारी दिइन् ।
चितवनमा आइतबार एमाले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ । कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभरी नै अभियानको रुपमा लैजाने उनले बताइन् ।