काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले दलहरूबीच देखिएको राजनीतिक गतिरोधको निकासका लागि तीनबुँदे सूत्र अगाडि सारेका छन् । उत्पन्न गतिरोधको निकासका लागि संशोधन प्रस्तावलाई स्थगन गरेर सहमति खोज्ने, नत्र सहमति नभए आगामी साता निर्वाचन घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ । कांग्रेस केन्द्रीय सदस्य शर्माले तीनबुँदेको व्याख्या यसरी गरे :
सहमति खोज्न संशोधन स्थगन : स्थगन भनेको संशोधन प्रस्ताव फिर्ता भनेको होइन, केही दिन संसदको प्रक्रियामा नलैजाने भनेको हो । संशोधनप्रति असन्तुष्ट दलसँग कुरा गरेर पहिलो संशोधन जस्तै प्रस्ताव परिमार्जन गर्ने । जस्तो, २०७२ माघ ९ गते पारित भएको संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा दर्ता गरिएको थियो, पछि दलीय सहमतीमा साझा प्रस्ताव तयार भयो । यसका लागि प्रक्रिया रोकेर सहमति खोज्न सकिन्छ ।

नयाँ सहमतिका लागि एकसाता : दलहरूबीच अहिले आवेगको वातावरण छ । नेकपा एमालेले संविधान संशोधनलाई ‘राष्ट्रघात’ भनेको छ । यस्तो अवस्थामा हिजो राष्ट्रपतिले शुरू गरिदिएको राजनीतिक संवादलाई निरन्तरता दिएर निकास खोज्न सकिन्छ । सहमतिको प्रयास गर्दा निकास निस्कन्छ, १५ दिन किन नलागोस् ? सत्तापक्ष पनि ‘रिजिड’ नहुने र विपक्षी दलहरू पनि सहमतिमा आउनेगरी विकल्प खोज्न सकिन्छ । यसरी आउने सहमतिलाई संशोधनको पूरक प्रस्तावको रूपमा संशोधन गर्न सकिन्छ ।
नत्र अर्को साता निर्वाचन घोषणामा सहमति: यसरी सहमतिको प्रयास गर्दापनि सहमति जुट्न सकेन भने दलहरूको एउटै विकल्प भनेको निर्वाचनमा जाने हो । निर्वाचन गराउने प्रधानमन्त्रीको दायित्व हो । एमालेले चुनावमा गएर बहुमत ल्याउने भनेको छ, निर्वाचनमा जान एमाले पनि तयार छ । मधेशकेन्द्रित दलहरू पनि ‘हामीलाई चित्तबुझ्दो प्रस्ताव आएन’ भन्दै राप र ताप लिएर चुनावमा जान राजी हुन्छन् । राजनीतिक गतिरोधको निकासका लागि तत्कालको विकल्प यही हो ।