काठमाण्डौ । नेकपा मालेका सांसद सिपी मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बहुला कुकुरले टोकेको भन्ने अभिव्यक्ति दिएपछि व्यवस्थापिका संसदमा हंगामा भएको छ ।
![]()
मैनालीले संसदीय मर्यादा विपरितको भाषा बोलेको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमआपत्ति जनाएपछि संसदमा हंगामा भएको थियो।
सांसद् खतिवडाले आपत्ति जनाएलगत्तै मैनालीले आफूले कसैलाई नभनेको भन्दै स्पष्टिकरण दिए । ‘मैले मान्छेलाई भनेको होइन’, मैनालीले भने ।
संसद मैनाली स्पष्टिकरण दिए पनि उनको बोलीलाई लिएर हंगामा भएपछि सभामुख ओनसरी घर्ती मगरले उक्त भनाइ संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएकी छिन् ।
रेकर्डबाट हटाउने निर्देशनपछि सुरु भएको बैठक एमाले सांसदले अवरुद्ध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन सम्बन्धी विधेयकको प्रस्ताव राष्ट्रघाती भएको भन्दै बिहीबार समेत एमालेले संसद् अवरुद्ध गरेको थियो ।
साभारः अन्नपूर्ण पोस्ट