काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाधक बनिरहेको आरोप लगाएका छन् ।

सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा शनिबार राति बोल्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर देशलाई निर्वाचनको चरणमा लैजान कोशिस गरिरहेका बेला विभिन्न बहानामा एमाले बाधक बनिरहेको आरोप लगाएका हुन् ।
संविधान संशोधनको अन्तिम तयारीमा आफू रहेको बताउँदै प्रचण्डले यसबारेमा प्रमुख प्रतिपक्षीसहितका दलहरुसँग पनि छलफल गरिसकेको दाबी गरेका छन् ।
‘मैले प्रतिपक्षका साथीहरुले हिजो आफैले भनेको विषयको वरिपरि रहेर समझदारी खोजेको छु । उहाँहरु आफैँले गरेको प्रतिवद्धताबाट बिचलित हुन मिल्दैन । के उहाँले देशलाई अप्ठ्यारोमा लान खोजेको हो?’, प्रधानमन्त्रीले एमालेलाई लक्षित गर्दै प्रश्न गरे, ‘के उहाँहरुले संविधान कार्यान्वयन गर्न नचाहेको हो ? म अझै पनि आशावादी छु, उहाँहरु सहमतिमा आउनु हुन्छ । उहाँहरुले चुनाव हुन नदिने स्थिति र कोणबाट सोच्नुभयो भने हामीले पनि गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’
प्रधानमन्त्रीले संविधान संशोधनको पूर्वाधारका रुपमा विश्वासको वातावरण बनेको बताउँदै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँगको सहमतिकै आधारमा आफू अघि बढ्दा पनि असफल पार्ने खेल भएकोमा गुनासो गरे ।
‘हामी ६ गते प्रमूख दलहरु छलफल गरेर सहमतिका लागि प्रयास गर्छौं’, उनले भने, ‘उहाँहरु मान्नुभएन भने हामी अगाडि बढ्छौं । संविधान संशोधन प्रस्ताव तयार हुन्छ र थप छलफल पनि गर्दै जान्छौं । यसमा धेरै समय अल्मलिने अवस्था छैन ।’
यदि आफूलाई संविधान संशोधन गर्न दिइएन भने पुरानै एजेन्डामा फर्किने चेतावनी पनि प्रचण्डले दिए । ‘संविधान संशोधन हुन नदिने, राष्ट्रिय एकता हुन नदिने र चुनाव पनि हुन नदिने हो भने म मेरो पुरानै एजेन्डामा फर्किन्छु’, उनले चेतावनी दिँदै भने, ‘म पुरानै एजेन्डामा फर्केर मधेसी, आदिवासी-जनजाति, थारु, मधेस, हिमाल र तराईलाई जोड्ने गरी पुरानै एजेन्डामा म अघि बढ्न बाध्य हुन्छु ।’
दश वर्षको अघिको स्थितिबाट राजतन्त्र ढालेर गणतन्त्र हुँदै, एकात्मकताबाट संघीयतामा जानु सामान्य कुरा नभएको उनको भनाई थियो । ‘यो शान्ति सम्झौता र शान्ति प्रक्रियाको देन हो । अहिले देशमा द्वन्द्वको स्थिति छैन । शान्ति सम्झौताको दश वर्ष हेर्दा ठूलठूला राजनीतिक र भावनात्मक परिवर्तन भएको छ’, उनले भने, ‘राजनीतिमा गुणात्मक परिवर्तन आएको छ । तर, जनताको जीवनमा परिवर्तन ल्याउने सपना गुणात्मक रुपमा अगाडि बढ्न सकेको छैन । अबको हाम्रो ध्यान जनताको जीवन बदल्ने दिशातिर हुनुपर्छ ।’