काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा अहिलेसम्म एमालेसँग कसैले पनि छलफल तथा परामर्श नै नगरेको बताएका छन्।
ओलीले सत्तापक्ष र मधेसी मोर्चाबीच संविधान संशोधनबारे सहमति भयो भन्ने कुरा बाहिर आएपनि आफ्नो पार्टीसँग यसबारेमा अहिलेसम्म कुनै छलफल तथा परामर्श नै नभएको दाबी गरे। ओलीले भने, ‘अरु को–को सँग के–के भए, तर एमालेसँग संविधान संशोधनबारे कुनै छलफल अहिलेसम्म भएको छैन।’
उनले भोलिका दिनमा कसैले संशोधनको विषयमा परामर्श गरे एमाले छलफल गर्न तयार रहेको बताए। यद्यपि उनले उपयुक्त विषयमा संविधान संशोधन हुने कुरामा आफ्नो दल निकै सचेत रहेको स्पष्ट पारे। ओलीले भने,‘देश र जनताको हित हुने कुरामा मात्रै संविधान संशोधन हुन्छ भन्ने कुरामा एमाले प्रष्ट, तर हचुवाको भरमा संविधान संशोधन हुन सक्दैन।’ उनले अहिले संविधान संशोधन भन्दा पनि कार्यान्वयन प्रधान कुरा भएको जिकिर गरे।
ओलीले संविधान संशोधन कसैको दबाब र कुनै प्रयासका कारण देशलाई नै अहित हुने खालको संविधान संशोधन हुनै नसक्ने जिकिर गरे। मुलुक अब कसैको प्रयोगको थलो हुन नसक्ने ओलीको भनाई थियो।