काठमाडौं । सिस्नुपानी नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा गरेको यसबर्षको प्रज्ञा–सिस्नुपानी जागरण देउसीमा हाँस्यब्यङ्ग्य कवि कलाकारले लोकमानसिंह कार्की देखि गोविन्द केसीसम्मलाई सिस्नुपानी लगाएका छन् ।
हरेक बर्ष तिहारको दिपावलीका दिन सिस्नुपानी नेपालले हाँस्यब्यङ्ग्यात्मक देउसी भैलो खेल्दै आउने क्रममा यसबर्ष १९ औ देउसी कार्यक्रम गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आइतबार दिउसो गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी लगायतका बिशिष्ठ ब्यक्तिहरु सिस्नुपानीको देउसी हेर्न पुगेका थिए ।
प्रज्ञा सिस्नुपानी देउसीको पहिलो निसाना बनेका थिए, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की । कार्कीमाथि यसरी सिस्नुपानी लगाएका थिए: हामी त्यसै आएनौँ, अदालतले खटायो लोकमानजीको घरमा नोटिस्, टाँस्न पठायो ।
नोटिस् टाँस्न जाँदा घरमा, ज्वाइँ राजाले खेदेका हाम्रा तामिलदारले बाउको, बिहे देखेका ।
अदालतको छातीमा, जेमराजको पैतालो नामै सुन्दा संसदमा, जान्थ्यो भैंचालो ।
सबै पार्टी मिलेर, पहिले तिर्सुल डामेको साँढे हान्न आउँदा अहिले, धनु कामेको ।
एउटा ठेगान लाग्दैछ, हजार लोकमान जागा छन् कसले तह लाउने तिनलाई, हान्ने राँगा झन् ।
मान सिंह, तान् सिंह –लोकमान सिंह रुख सिहं घाम सिंह – लोकमान सिंह हँसिया तारा – लोकमान सिहं सबका प्यारा – लोकमान सिंह । कादर खान सिहं – लोकमान सिंह गब्बर मान सिंह – लोकमान सिंह
अटेर मान सिंह – लोकमान सिहं नटेर मान सिहं – लोकमान सिह ।
भिर उक्लेका –लोकमान सिंह सिङ् फुक्लेका–लोकमान सिंह
पिराए सारा – लोकमान सिंह अस्ताए तारा – लोकमान सिह
लोकमानसिंह कार्कीमाथि महाअभियोगको माग राख्दै अनसन बसेका गोबिन्द केसीले दशैमा छुट्टी लिएको प्रति पनि सिस्नुपानी लगाएका छन् ।
केसी सुत्छन् सरकार उठ्छ, केसी उठ्छ्न् सरकार सुत्छ नि लैलै अनशन हो भन्छन्, दसैँ छुट्टि लिन्छन् । डाक्टर – सरकार उस्तै उस्तै छन् ।
हाँस्यब्यङ्ग्य कलाकार तथा साहित्यकारले विभिन्न राजनीतिक पार्टी, नेताहरु, मन्त्री साँसद, राजनीतिक सामाजिक विभिन्न क्षेत्रका पक्षमाथि ब्यङ्ग्य गरे । नेपाली कांग्रेसलाई उनीहरुले यसरी ब्यङ्ग्य गरे:
जेठो पार्टी काँग्रेस नै दह्रो खुट्टा टेक्दैन छिमेकीले ढुंगा हान्दा किन छेक्दैन ।
पहिलो पार्टी कांग्रेसको विदेश नीति खुट्याइदेऊ भाले हो कि पोथी हो लिङ्ग छुट्याइदेऊ ।
शेर बहादुरले प्रचण्डलाई प्रधानमन्त्री दिएर नौ महिनालाई सुते स्लिपिङ ट्याब्लेट पिएर ।
सपना देखे देउवाले प्रधानमन्त्री भएको कालो बोको तान्दै बालुवाटार गएको ।
झस्के सपना देखेर पुच्छ्रे तारा खसेको ब्युंझदा त कुर्सीमा अर्कै बसेको ।
यस्तै उनीहरुले पूर्वप्रधानमन्त्री तथा एमाले नेता माथि पनि सिस्नुपानी लगाए:
आए केपी गए केपी ख्वाए खरो सुरती भुल्नै गाह्रो लाउरे माया चाउरे पिरती ।
ख्याट्ट पारे डिजिटल चुलो बाले भरर चुच्चे रेलमा लुम्बिनी लगे सरर ।
उपरखुट्टी लगाएर रोबोट्लाई खेत जोताए रोबोट्नीलाई चुला चौका आँगन पोताए ।
हावाबाट बिजुली पाइपबाट ग्याँस पाइयो भाइबर बाट दालभात खाइयो झ्याप्प निदाइयो ।
सपना नै सही रेल, पानी जहाज फल्दथ्यो केपी जति भए नेता काम चल्दथ्यो ।
संसदमा माधव नेपाल डाको छोडी रोएछन् किन रोए भनी बुझ्दा बूढो भएछन् ।
गुट बनाउने फुट गनाउने एमालेको चरित्र बाहिर नजाउ शत्रु खोज्न खोज त्यहीँ भित्र ।
विभिन्न क्षेत्रका बिकृती बिसंगतीमाथि ब्यङ्ग्य गरेका उनीहरुले सर्बोच्च अदालतका प्रधानन्यायाधिस सुशिला कार्की, धुर्मुस सुन्तली, कानुन ब्यवसायी ओमप्रकाश अर्याल सम्मलाई धन्यबाद दिएका छन् ।
सिस्नुपानी देउसीमा पूर्वप्रधानमन्त्रीको भेषमा सिताराम कट्टेल धुर्मुस र प्रचण्डको भूमिकामा मनोज गजुरेलले ब्यङ्ग्यबाण प्रहार गरेका थिए । (रातोपाटीबाट)